१ मङ्सिर, काठमाडौँ । जनता समाजवादी पार्टीका नेताहरूले जाति, भाषा, धर्म र संस्कृतिमाथिको विभेद कायम भइरहेको औँल्याउँदै त्यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
जनता समाजवादी पार्टी काठमाडौँ जिल्ला समन्वय समितिको आयोजनामा आज काठमाडौँमा भएको नेपाल संवत् ११४५ न्हूदँ, तिहार छठलगायत राष्ट्रिय पर्वहरूका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, एवं सांस्कृतिक तथा जलपान कार्यक्रममा उनीहरूले जनता समाजवादी पार्टीले उठाएका विभेदलगायत मुद्दा अझै थाती रहेकाले परिणाम निस्कने गरी काम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अब कुरा गर्नेभन्दा जनताको कुरा सुन्ने र जनताको काम गर्ने बेला भएको बताए । विसं २०४८ सालको निर्वाचनयता अनेकौँ निर्वाचनका धेरै अनुभव लिइसकेको उल्लेख गर्दै उनले अब गरेका वाचा पूरा गर्न अझै कटिबद्ध भएर लाग्न जरुरी रहेको औँल्याए
भाषाको आन्दोलन नेपाल संवत्, सम्पूर्ण नेपालीको संवत्लाई स्थापित गर्ने आन्दोलन उपत्यकाबाट सुरु भएको स्मरण गर्दै अध्यक्ष राईले नेपालको लोकतान्त्रिक आन्दोलनले पाउनुपर्ने बहुदलीयता आवधिक निर्वाचनको हक र गणतन्त्र प्राप्त भएको तर अहिले पनि भाषा आन्दोलन र नेपाल संवत्लाई स्थापित गर्ने आन्दोलनले पाउनुपर्ने लक्ष्य अझै प्राप्त नगरेको बताए ।
विधिविधान र ऐनकानुनले आत्मसात् गर्ने अवस्था अझै बनिनसकेको उल्लेख गर्दै उनले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “अहिले पनि नेपाली समाज विभेदमुक्त भएको छैन, समानता भएको छैन, जाति, भाषा, धर्म, संस्कृतिमाथिको विभेद आज पनि जारी रहेको छ । दलितमाथिको विभेद आज पनि व्याप्त छ, यस्ता विभेदलाई अन्त गर्नुपर्ने आवश्यकता रहेको छ ।”
उनले देशलाई समानता र समतायुक्त तथा विभेदमुक्त बनाउनुपर्ने आवश्यकता रहेको र त्यो खड्किरहेको बताए । त्यही लक्ष्य प्राप्त गर्नका लागि जनता समाजवादी पार्टी अघि बढेको बताउँदै उनले यो दल सत्ता प्राप्तिका लागि नभएको बताए ।
कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीले उठाएका नेपाल संवत्, राष्ट्रिय संवत्लगायत मुद्दामा केही उपलब्धि हासिल भए पनि अझै पूर्ण नभएको र त्यसका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले उक्त आन्दोलमा उपत्यकावासीको भूमिकाको स्मरणसमेत गरे । उनले अझै पनि पार्टीले उठाएका धेरै मुद्दा स्थापित गर्न बाँकी नै रहेको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नेता, खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ र मेलम्चीवासीको सङ्घर्षका चेतावनीबीच काठमाडौँमा दसैँअघि नै पानी ल्याउन सफल भएको बताए ।
मन्त्री यादवले आफ्नै कार्यकालमा काठमाडौँवासीले चौबिसै घण्टा पानी पाउने अवस्था सिर्जना गर्न लागिपरेको बताए । उनले अहिले दैनिक १८ करोड लिटर पानी आइरहेको र अब २५ करोड ५० लाख लिटर थप पानी उपत्यकामा थप्नका लागि आवश्यक कार्यप्रक्रिया सुरु भइसकेको जानकारी दिए ।





