१८ माघ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद सर्वेन्द्रनाथ सुक्लाले निजी क्षेत्रको रु ५० अर्ब बक्यौता तिर्न नसकिएकाले समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन्। संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारी दायित्व र बक्यौताको यथाशीघ्र भुक्तानी हुनुपर्नेमा जोड दिएका हुन्।
सुक्लाले अर्थतन्त्रमा सुधार भएको भनिए पनि धरातलमा जनताले महसुस गर्न नसकेको बताएका छन् । उनले भने, “अर्थतन्त्र सुधार भएको भन्ने तथ्याङ्क त छ तर यो कतै मिथ्याङ्क त होइन निजी क्षेत्र सङ्कटमा गइरहेको छ । लगानीको वातावरण छैन । जबसम्म निजी क्षेत्र लगानीका लागि उत्साहित हुँदैन तबसम्म अर्थतन्त्र चलायमान हुँदैन ।”
बैंकमा निक्षेप बढी भएको पैसा लगानी नभएसम्म अर्थतन्त्र चलायमान नहुने सुक्लाको भनाइ छ । उनका अनुसार ग्रामीण अर्थतन्त्र चलायमान गर्नका लागि सहकारी क्षेत्रको सुधार गर्नुपर्ने छ ।
सुक्लाले पर्यापर्यटन क्षेत्रको सुधारका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका छन् । लगानीको उचित फाइदा नभएसम्म ऋणात्मक बोझ बढ्ने र धनात्मक अवस्था कम हुने छ उनको भनाइ छ ।





