राजनीति

पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ : उपमहासचिव गजुरेल

१८ माघ, झापा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आयोजित पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेता तथा कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

“पार्टीलाई थप सशक्त र जनता केन्द्रित बनाउन सबै नेता–कार्यकताहरू तल्लो तहमा उत्रिएर वैचारिक रूपमा नागरिकलाई सङ्गठित गर्नुपर्छ”, नेता गजुरेलले भने, “अब युवाहरू जाग्नु पर्ने समय आएको छ । मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि युवाको सक्रियता आवश्यक छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटि भएको उनले उल्लेख गरे ।

“बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन”, नेता गजुरेलले भने, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नुपर्छ ।”

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईं, केन्द्रीय सदस्य इन्द्र आङ्बोलगायतले उत्पादन र रोजगारीका क्षेत्रमा पार्टीले काम गर्नुपर्ने बताएका थिए ।