२४ माघ, काठमाडौँ । सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्ने भनिएको अध्यादेश आज निर्णयार्थ प्रस्तुत नगर्ने भएको छ । राष्ट्रियसभामा अल्पमतमा पर्ने त्रासले अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै सरकार पछि हटेको हो।
आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरबदल भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाए पछि दुवै सदनको कार्यसूची फेरिएको हो ।
यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो। राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको र छलफल बाकी भएको भन्दै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत नगर्ने निष्कर्षमा पुगेको हो। प्रतिनिधिसभामा भने काँग्रेस र एमालेको स्पष्ट बहुमत रहेको छ।





