१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई होच्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै बैठकमा आपत्ति जनाएका हुन् ।
उनले भने ‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भने, ‘एयरपोर्टमा स्वागत गरिएको विषयलाई उहाँले कथित बनाउनुभयो ।’
उक्त विषय संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छन् । साथै, प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् ।





