ढाका । साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा श्रीलंकामाथि नेपालले ७-० गोलको विसाल अन्तरले हराएको छ। खेलको पहिलो हाफमा नै नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने कुनै गोल गर्न सकेन।
नेपालका लागि मीना देउवाले ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पूर्णिमा राईले २ गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल गरिन् ।
खेलको ८औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको नेपाल दोस्रो खेलमा भने नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।
तर श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। पहिलो खेलमा बंगलादेशसँग ९-१ , दोस्रो खेलमा भुटानसँग ५-० को हार श्रीलंकाले व्यहोरिसकेको छ।





