पत्रपत्रिका

मध्यरातसम्म चलेको एमाले सचिवालय बैठक: ७० वर्षे उमेर हद र २ कार्यकाल हटाइयो

काठमाडौं । एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था हटाइएको छ । उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव गरेका थिए । पार्टीको मध्यरातसम्म चलेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, पौडेलले पेस गरेको संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव गरिएको छ । १०औं महाधिवेशन अघि भएको विधान अधिवेशनबाट यो पद सिर्जना गरिएको थियो । हाल एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । पोखरेल लगायतका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमा असहमति जनाएका छन् । यस्तै, उपाध्यक्ष पौडेलले विद्यमान १९ पदाधिकारी संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए ।

पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ । हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारी संख्या १५ राख्नेमा सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘११ बाट बढाएर १५ जना पदाधिकारी राख्ने सहमति भएको छ,’ भट्टराईले भने,‘तर कुन पद राख्ने र थप्ने भन्नेमा छलफल जारी छ ।’

यस्तै उपाध्यक्ष पौडेलले केन्द्रीय समितिलाई घटाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । तर, बैठकले २५१ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । हाल एमालेको ३०१ जनाको केन्द्रीय कमिटी छ ।

अघिल्लो विधान अधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो । चितवनमा भएको १० औं महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यो विषयमा शुक्रबार साउन २ मा बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीमा थप छलफल हुनेछ । एमालेको भदौ २० देखि ललितपुरको गोदावरीको सभा हलमा विधान अधिवेशन हुँदैछ ।

विद्या भण्डारीको विषय प्रवेश
एमालेको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किने विषयले प्रवेश पाएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विद्या भण्डारीको विषयमा छलफल हुने बताएका छन् । सचिव योगेश भट्टराईले सचिवालय बैठकपछि अध्यक्ष ओली आफैंले विद्या भण्डारीको विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् । तर, बिहीबारको सचिवालय बैठकमा भने यो विषयमा छलफल भएन । सचिव भट्टराईले भने, ‘यसबारेमा अध्यक्ष कमरेड आफैंले आजको बैठकमा भ्याइएन तर आवश्यक परेमा छलफल हुनेछ भन्नु भएको छ’, उनले भने ।

उनले भण्डारीलाई जिम्मेवारी दिने विषयमा पनि छलफल भएको बताए । ‘अहिले नै उहाँलाई यो वा त्यो जिम्मेवारी दिने÷नदिने भन्नु धेरै हतार हुन्छ । यसबारे कुरा भएको छैन, भट्टराईले भने, ‘पार्टी अध्यक्षले पूर्वराष्ट्रपतिबारे छलफल गरौँ भन्नु भएको छ। अब यो एमालेको विषय भइसकेको छ ।’ सचिव भट्टराईले सेवा सुविधा सबै त्यागेर पार्टीमा फर्किने पूर्वराष्ट्रपति भण्डारीले घोषणा गरिसकेको अवस्थामा बैठकमा नेताहरूले अध्यक्ष ओलीले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएको बताए ।

उनले भने, ‘यसलाई पार्टीमा छलफल गरेर टुंग्याउनुपर्छ । बैठकमा पनि हतार नगरौँ भन्ने भएको छ। अध्यक्षले पनि छलफल गरौँला भन्नु भएकाले अब औपचारिक र अनौपचारिक रुपमा पनि यो एमालेको छलफलको विषय भयो ।’ सचिव भट्टराईले पार्टीमा भण्डारीको योगदान भएको बताउँदै भने, ‘पार्टीको उद्देश्य गन्तव्य के छ, उहाँले के चाहानु भएको छ रु कसरी आउनु खोज्नु भएको छ रु उहाँको कुरा भयो । तर, उहाँले पार्टीको प्रणाली बुझ्नु भएको छ । पार्टीमा उहाँको योगदान छ ।’ सचिव भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रूपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको बताए ।

‘राजनीतिमा जान्छु भनेर सेवा सुविधा त्यागेपछि, उहाँलाई पार्टीले उचित स्थान दिन्छ’, उनले भने । उनले थपे, ‘बैठकमा अध्यक्ष कमरेडले अलि बाक्लो संवाद गरेर उहाँलाई भूमिका दिनुपर्छ भन्ने कुरा भएको छ । पूर्वराष्ट्रपतिसँग अध्यक्षले आवश्यक संवाद गरेर उहाँको व्यवस्थापनबारे निर्णय लिनु हुन्छ ।’
तर, एक अन्तर्वार्तामा भने अध्यक्ष ओलीले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । उता भण्डारीलाई विधान अधिवशेनमा प्रतिनिधि बनाउने नबनाउने विषयमा छलफल भइरहेको छ । अन्नपुर्ण पोष्ट दैनिकबाट