मनोरञ्जन

क्यान्सर जितेकी गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक

२ साउन, काठमाडौँ । गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा म्युजिक भिडियो प्रिमियर गरिएको हो ।

त्यस अवसरमा गायिका देविका बन्दनाले आफूले सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवर्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ सृजना गरेको बताईन् । “केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए, सोही समयमा सोलुखुम्बुका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो”, उनले भनिन्। 

कार्यक्रमका प्रमुख अतिथि थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्दै म्युजिक भिडियो तयार पार्नु हुने गायिका देविका बन्दनाप्रति आभार व्यक्त गरे । “गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छन्, समग्र जिल्लाको प्रचारप्रसार हुने गरी पुनः छायाङ्कन गर्ने हो भने हाम्रो गाउँपालिकाले खर्च बेहोर्ने छ, यसबाट जिल्लाको पर्यटन र संस्कृति प्रवर्द्धन हुन्छ भन्ने मलाई विश्वास छ”, उनले भने ।

वरिष्ठ कलाकार तथा विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिए।

उक्त गीतको शब्द देविका बन्दनाले रचना गरेकी हुन् भने गायनमा देविकालाई सोही गीतका सङ्गीतकार तथा एरेञ्जर किरण कँडेलले साथ दिएका छन् । कमल राईको निर्देशन रहेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गरेका छन् । उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

कलाकारहरु सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङ, किरण कँडेललगायतले गीतबारे चर्चा गरे । उनीहरुले गीतमार्फत सोलुको पर्यटन तथा संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा गायिका देविका बन्दनाले म्युजिक मिडियो छायाङ्कन भएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग उपलब्ध गराईन् । हाल उक्त गुम्बामा करिब सात सय बालबालिका अध्ययनरत छन् ।

गायिका बन्दनाले हालसम्म १०० भन्दाबढी चलचित्रमा गीत गाइेसकेकी छन्। उनका ‘भरे आउँछु सपनीमा...’, ‘यस्तै रहेछ यहाँको चलन...’, ‘तल तल तल तल बेँसीमा मैच्याङ...’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती...’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला...’ लगायतका गीत सयौँ चर्चित गीत छन् ।