समाचार

रास्वपा र राप्रपाद्वारा संसद बैठक आज पनि बहिष्कार

८ साउन, काठमाडौं । ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बिहीबारको बैठकको कारबाही शुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका हुन् ।सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिएका थिए ।

‘भिजिट भिसा’ प्रकरणमा २ महिनादेखि विरोध गर्दै आएको उल्लेख गर्दै रास्वपाकी सांसद डा.चन्दा कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने दावी गरेकी छन्। दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद चल्ने अनौठो अभ्यास भएको भन्दै उनले आपत्ति जनाएकी हुन् । 

भैंसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको बताउँदै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग समेत गरेकी छन् । मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको बताउदै उनले आपत्ति जनाएकी हुन् ।

त्यस्तै, राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसदमा विरोध जारी रहने बताएका छन् । सरकारले सहिद गंगालाल अस्पताललाई सहुलियत वापतको ७० करोड नदिएका कारण बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग समेत उनले गरेका थिए ।

‘भिजिट भिसा’ प्रकरणका नाममा संसदमा विरोध गर्दै आइरहेका दुई राजनीतिक दल रास्वपा र राप्रपाबीच पनि कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषमा मतैक्यता छैन । रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ ।