८ साउन, काठमाडौं । केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम गाउँ-गाउँमा किन पुग्दैन भनेर सरकारसँग प्रश्न गरेका छन् ।
जसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका हुन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा सांसद डा. चन्द्रकान्त भण्डारीले राजधानीबाट १ सय पठाउँदा गाउँमा ५० रुपैयाँ मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताएका हुन्। धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरेका थिए।
त्यस्तै, सांसद लिलानाथ श्रेष्ठले तराई मधेशमा पानीको अभाव भएका कारण खानेपानीको व्यवस्था गर्न माग गरेका छन्। लम्पी स्किनले तराई मधेश क्षेत्रमा क्षति भएका कारण सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिएका थिए । त्यस्तै, सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको ७ बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताएकी छन्।
त्यस्तै, सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरेका थिए। त्यसैगरी, सांसद रञ्जुकुमारी झाले मधेश प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरेकी छन् ।





