समाचार

अत्याधिक गर्मी भएपछि कोशी कटान क्षेत्रमा नुहाउने मानिसको भीड

९ साउन, सुनसरी । अत्याधिक गर्मी भएपछि कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको नुहाउनका लागि भीड लाग्न थालेको छ ।

सोही स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएका कारण् नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिएका हुन् । यहाँ दैनिक रुपमा १ सय भन्दा बढी मानिसहरु नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले बताएका छन् ।

प्रचण्ड गर्मीको समयमापनि यहाँको पानी चिसो हुने भएकाले नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ थियो । कटान क्षेत्रमा लामो तथा छोटो दूरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन् । 

सोही स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाएर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीयबासी बताउँछन् ।