९ साउन, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ ।
गत हप्ता महिनावारी भएको समयमा छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाई ९आउजी०को सर्पदंशका कारण मृत्यु भएपछि छउगोठ भत्काउन शुरु गरिएको हो । वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले जानकारी गराएका छन्। दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएको उनले बताएका हुन् । छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको समेत उनको भनाइ छ ।
सोही समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताएका हुन् । स्थानीय स्वस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियनमा संलग्न भइरहेका बताउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानून अनुसार कारबाही गरिने समेत चेतावनी दिएका छन्। पहरीया क्षेत्रमा पनि छाउगोठ भत्काउन शुरु गरिने उनले बताएका हुन् ।





