समाचार

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य: प्रचार विभाग प्रमुख गौतम

१० साउन, भक्तपुर । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य रहेको बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले भक्तपुरमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको उनको भनाइ छ। एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताएका हुन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको दावी गरेका छन् ।

त्यस्तै,कार्यक्रमका सभापति एवं नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले पूर्वराष्ट्रपति भण्डारीको पुनारागमनले राजनीतिमा तरंग ल्याएको बताएका थिए ।