शिक्षा

शिक्षासहित ५ संसदीय समितिको बैठक आज बस्दै

११ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ५ वटा संसदीय समितिका बैठक बस्ने भएका छन् ।

आइतबार अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्यांकन समिति (संयुक्त) को बैठक बस्ने संसद सचिवालयले जनाएको हो । सोही समितिका बैठकहरु आइतबार बिहान ११ देखि दिउँसो १ बजेकोबीचमा सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्ने छन् ।

अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुने भएको हो । चालु आवको  बजेटका लागि आयोगले दिएका सिफारिस, सुझाव तथा ती सुझाव, सिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था, आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिने भएको छ। 

त्यस्तै, कृषि सहकारी समितिमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । लेखा समितिको बैठकमा ‘महालेखा परीक्षकको ६१ र ६२औं वार्षिक प्रतिवेदन’उपर छलफल हुने भएको छ । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्यांकन समिति (संयुक्त) मा सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सोही कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।