११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको आइतबार अन्त्येष्टी गरिने भएको छ।
पूर्वप्रमुख गुरुङको शनिबार बिहान पौने ९ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । कांग्रेसले गुरुङको पार्थिप शरिरलाई आइतबार बिहान ११ बजेर १५ मिनेटमा उनकै निवास भरतपुर महानगरपालिका २६ दिव्यनगरबाट पवित्र तीर्थस्थल देवघाटधाममा लगेर अन्त्येष्टी गरिने जनाएको हो। स्वर्गीय गुरुङले लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साल साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका छन्। कांग्रेस विभाजन हुँदा गुरुङ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति समेत थिए ।
२००६ सालमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवनमा बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । २०४६ सालको जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर गुरुङले काम गरिरहेका थिए । पूर्वप्रमुख गुरुङका छोरा विदेश भएका कारण आइतबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको थियो ।
पूर्वप्रमुख गुरुङका २ जना छोरा मध्ये जेठो छोराको निधन भइसकेको छ । हाल कान्छो छोरो र श्रीमती मात्रै रहेको कांग्रेसले जनाएको हो । कांग्रेसले शनिबार पूर्वप्रमुख गुरुङको निधनप्रति शोक व्यक्त समेत गरेको थियो ।





