११ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘कुलिङ अफ पिरियड’ को बारेमा छानविनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सचिव भट्टराईले आइतबार सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् । सचिव भट्टराईले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानविन गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले सोही विषयमा अध्यक्ष दाहालको ध्यानाकर्षणसहित जवाफको अपेक्षा गरेका हुन्। विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा एमाले भएको समेत उनले जानकारी गराएका छन् ।
कुलिङ अफ पिरियड माथि संशोधनको प्रस्ताव एमालेलेका सांसदहरुले नै राखेको समेत उनले जानकारी गराएका छन् । अहिले पनि एमाले सोही अडानमा कायमै रहेको उनको दावी रहेको छ । उनले अध्यक्ष दाहालले कुलिङ अफ पिरियडलाई लिएर प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेकोप्रति आपत्ति जनाएका हुन् । एमाले सचिव भट्टराईले संसदको विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै अध्यक्ष दाहाललाई प्रश्न समेत सोधेका छन् ।
एमालेका सचिव भट्टराईले सामाजिक संजालमा यस्तो लेख्नुभएको छ :
कमरेड पुष्पकमल दाहालज्यू . लालसलाम
‘तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
1. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौ ।
2. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
3. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की? आफनै बोली आफैलाई गलापासो नहोस!’





