समाचार

अविरल वर्षाका कारण देशका मुख्य ८ राजमार्ग पूर्ण रूपमा अवरूद्ध

१२ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट देशका मुख्य ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार रातिदेखि वर्षाका कारण सोही राजमार्ग अवरुद्ध भएको जनाएको हो । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको कार्यालयले जनाएको हो।

त्यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले बताएको छ ।