१२ साउन, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।
राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । तर अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको हो । नेपाललाई ३ वर्ष भन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखिए कारण वारेस राख्ने अनुमति प्रदान गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख गरिएको छ ।
‘दफा ३ को उपदफा (१) को खण्ड (झ)मा आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था भएको पाइन्छ। सोही व्यवस्थाअनुसार यी प्रतिवादीलाई तीन वर्ष भन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो। तसर्थ, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ को उपदफा (१) को खण्ड (क) को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन। कानून बमोजिम गर्नु भनेर आदेशमा भनिएको छ।’




