बाग्मती

के छ त काँग्रेस बागमती प्रदेश संसदीय दलको पछिल्लो विवाद ? देखियो सात प्रदेशमध्ये उदाहरणीय !

१३ श्रावण, काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशमा केहीदिन देखी लफडा परेको छ । संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउन र इन्द्रबहादुर बानियाँलाई बनाउन सक्रिय भएर २१ जना सांसदले हस्ताक्षर गरेको भनेर भाइरल भएको अवस्थामा पुनः हस्ताक्षर गरेकामध्ये दुई जनाले आफूहरूलाई जानकारी नै नदिई हस्ताक्षर गरेको भन्दै फिर्ता लिएका छन् । 

काँग्रेसका बागमती प्रदेश सदस्यहरू मिना पराजुली र माया श्रेष्ठले आफूहरूको समर्थन बहादुर सिंह लामालाई नै यथावत् रहेको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । २१ जनाको हस्ताक्षरले अविश्वासको प्रस्ताव दर्ता गरेका बानियाँ समूहको पक्षमा अब १९ जना वा अझै बहुमत सदस्यको समर्थन कायम देखिएको छ । 

जम्मा ३७ जना सदस्यको बागमती प्रदेश नेपाली काँग्रेसका १९ जना सदस्य भएमा बहुमत पुग्नेछ । बहादुर सिंह लामाको पक्षमा १८ जनाको समर्थन रहेको बताइएको छ । संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँलाई पराजित गरेको लामा पक्षसँग बानियाँ पक्ष त्यसबेला देखी नै लागिपरिरहेको अवस्था कायम छ । माथिको गुटको खेल भए पनि बागमती  प्रदेशको काँग्रेसको दलको विवाद ७ वटै प्रदेशको तुलनामा फरक र उदाहरणीय देखिएको काँग्रेस नेताहरूको तर्क छ । 

बहादुर सिंह लामा र इन्द्र बानियाँ दुबै जना नेता निर्माण क्षेत्रका ठुला व्यापारी हुन्, नुवाकोटका प्रभावशाली लामा र मकवानपुरका प्रभावशाली मानिने बानियाँकाबीच संसदीय दलको निर्वाचन भएमा लामाले नै बाजी मार्छन् वा बानियाँले त्यो भने भन्न सकिन्न । तर उनीहरूमा बानियाँले संसदीय दलको नेता भए भने उनी मुख्यमन्त्री बन्ने बाटोमा रहनेछन् ।