१६ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
आयोगले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । आयोगले यहि साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ । आयोगले यस अघि नै उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।
आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने जारी सूचना भनिएको छ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगले जनाएको हो । कात्तिक १७ गते बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएको व्यक्ति भने उम्मेदवार हुन नपाउने आयोगले जनाएको हो।





