१७ साउन, झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याएका ७ जना नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ ।
ती किशोरीहरुलाई भारत पुर्याउने २ जना पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले जानकारी दिएका हुन् । शुक्रबार राति भारतीय प्रहरीले उद्धार गरेको पनि उनले बताएका छन् । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी संखुवासभाका उनले बताएका हुन् ।
किशोरीलाई भारत पुर्याउने अभियुक्त मध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् । अर्का संखुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेको जनाइएको छ । अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पुर्याएका थिए । किशोरीहरुको आधार कार्ड लगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेको समयमा भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो । तर, कानूनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए । सोही घटनाको बारेमा भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।





