१७ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश समृद्ध बनाउनका लागि जोखिम मोलेरै काम गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा शनिबार रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै उनले यस्तो जोड दिएका हुन् । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने समेत बताएका हुन्।
‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी र गुजारामुखी ढाँचाको रहेको पनि उनको भनाइ थियो । महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको उल्लेख गर्दै नेपालको सामथ्र्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेको बताएका छन् । नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेको समेत उनले बताएका थिए ।
फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।





