आर्थिक

म्याग्दीका ९ सय घरमा केन्द्रीय प्रसारण लाइन विस्तार

१८ साउन, म्याग्दी । म्याग्दीमा पछिल्लो १ वर्षको अवधिमा करिब ९ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न ठाउँमा ८ सय ७४ उपभोक्ता थपिएका जनाएको हो। केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको बताएका थिए ।

उनले धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताएका हुन्। पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनले बताएका छन् ।

गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । १ सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन, रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत आपूर्ति गराउन थालिएको छ ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुशीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताएका थिए । घरायसी काम र विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ ।