बाग्मती

काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा मन्त्री दाहालको जोड

१८ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यका साँस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएका कारण यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरमा आइतबार आयोजित काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकन सम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, साँस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहेको बताउदै उनले यातायात प्रणाली अव्यवस्थित रहेको बताएका थिए । उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरु योजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण, अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ,  वायुप्रदूषण बढेको मन्त्री दाहालले उल्लेख गरेका छन् । सोही कारणले यातायातलाई मात्र नभएरआर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उनले धारणा थियो ।

सोही कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रणालीको व्यवस्थापन गर्दै बहुपक्षीय समन्वयको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सोकार भएका निकायका विज्ञहरूले अवधारणापत्र समेत प्रस्तुत गरेका थिए ।