समाचार

जलवायु परिवर्तनको बारेमा आगामी भदौमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने नेपालको तयारी

१८ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असरको सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन्।

सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौमा अन्तर व्यवस्थापिक संघ (आइप) का अध्यक्षसँग पनि आगामी जनवरी ३० र ३१ मा एशिया प्यासिफक क्षेत्रको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्ने बारेमा छलफल गरेको उनले बताएका छन् ।

अन्तर व्यवस्थापिका संघ (आइपियु) र संयुक्त राष्ट्रसंघ (युएन) द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन ३ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए ।

सम्मेलनका दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल र भुटान लगायतका देशका संसदका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेको जानकारी गराएका छन् ।