खेलकुद

खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

२१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् । राष्ट्रपति पौडेलले देशलाई विश्वभरी चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्,-‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् । व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको छ । खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संघ संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताएका थिए। ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।