समाचार

‘रवि लामिछानेलाई कारागारमा पत्रपत्रिका समेत पढ्न दिएको रहेनछ, यस्तो त पञ्चायतकालमा पनि थिएन’: डा. भट्टराई

२२ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार बिहान रविलाई कारागारमै पुगेर भेटेका हुन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा जाने क्रममा कारागारमा रहेका रविसँग उनले भेटवार्ता गरेका थिए । सोही भेटपछि पूर्वप्रधानमन्त्री भट्टराईले संचारकर्मीसँग कुरा गर्दै रविलाई थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् । रवि निर्वाचित सांसद भएका कारण भाग्ने र थप अपराध गर्ने सम्भावना नभएका कारण थुनामा राख्न आवश्यक नभएको उनको धारणा थियो ।

रविलाई जमानत एवं अन्य कुनै तरिकाबाट थुनामुक्त गरेर जनताको सेवा गर्न दिन वा सांसद पद खारेज गरेर नयाँ निर्वाचन गराउनका लागि आफूले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समेत भनेको उनले बताएका थिए । रविलाई कारागारमा पत्रपत्रिका समेत उपलब्ध नगराएर सूचनाको पहुँचबाट समेत वञ्चित गरिएको र कोठामा समेत एक्लै राखिएको देखेर अप्ठेरो महशुस गरेको उनले बताएका छन् ।

पञ्चायतकालमा पनि पत्रपत्रिका पढ्न पाउने व्यवस्था भएको बताउदै उनले रविलाई सोही समयको भन्दा पनि कडाइ गरिएकोप्रति उनले आपत्ति प्रकट गरेका छन् । यो कुरा सम्बन्धित निकायलाई एक पटक भन्ने समेत उनले बताएका हुन् ।पूर्वप्रधानमन्त्री भट्टराईले रविमाथि राजनीतिक प्रतिशोध साँधेको दावीसहित न्यायका लागि भनेर उनको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।

जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएका कारण सद्भाव राखेर रविलाई भेट्नका लागि काराकारमा पुगेको पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ थियो ।