२४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैदिक विधि अनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् ।
पौडेलले रक्षाबन्धन एवं जनैपूर्णिमा पर्वको अवसरमा शनिबार रक्षाबन्धन ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले रक्षाबन्धन ग्रहण गरेका थिए ।
यसअघि शनिबार नै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । उनले शनिबार एक शुभकामना सन्देश जारी गर्दै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व, परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका पर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरेका थिए ।



