२४ साउन, काठमाडौं । निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर शनिबार रक्षा बन्धन पर्वको अवसर पारेर सार्वजनिक भएका छन्।
नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको सोही फिल्मको प्रदर्शन मिति घोषणासहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ। सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेंलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। जसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ।
दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदासहित प्रस्तुत भएकी छन् । यसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्दछ। फिल्मको कथा निता ढुंगानाले नै लेखेकी हुन् । पटकथा तथा संवाद भने शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्ने भएका छन्।
निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्। निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो । जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाउनेछ।
आगामी असोज महिनाबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक को–को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन्। निर्देशक अधिकारीका अनुसार केही दिनमा कलाकार तथा थप प्राविधिकहरुको जानकारी दिइने छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ ।
उपत्यका बाहिर भने एफडी कम्पनीले जिम्मा लिएको जनाइएको छ ।





