२६ साउन, सुनसरी । सुनसरीमा सोमबार सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा २ वटा सवारी साधन एक आपसमा ठोक्किँदा उनीहरुको मृत्युभएको छ ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान एकआपसमा ठोक्किएको प्रहरीले बताएको छ । मृतको पहिचान हुन नसकेको प्रहरीले जानकारी गराएको हो ।
घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको हो । बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ । सोही घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको हो ।





