ब्रेकिङ न्युज

कांग्रेसका नेता अभिषेक गिरि पक्राउ

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन् ।

मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई आज बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर तथा घरअगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घर र गाडीमा कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

​प्रहरी स्रोतका अनुसार, गिरीले कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ।

कारागारमा कैदिहरुले बनाउने सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार कैदीबन्दीको पैसा कु-कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे प्रारम्भिक सूचनाका आधारमा प्रमाण संकलन भइरहेको छ।

उनी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ।