लुम्बिनी

सहकारी प्रकरण: जेल जीवन बिताइरहेका रविको कोठामा झ्याल बन्द, एसी पनि छैन: मानव अधिकार आयोग

२६ साउन, रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातावरण अनुकूलित एसी नभएको जनाएको छ ।

आयोगका प्रतिनिधिहरुले रवि बस्ने कारागारको कोठामा झ्यालको प्लाई उडले टालेर बन्द गरिएको बताएका हुन् । कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

आयोगकी प्रवक्ता लिली थापाले क्षमता भन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी हुन् । त्यस्तै, रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको उनको भनाइ छ ।

कारागार प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको आयोगकी प्रवक्ता थापाले जानकारी गराएकी छन्। आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको प्रवक्ता थापाले बताएकी हुन् ।