२८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट फेसबुक लाइभ गरेका छन् ।
उनले यही भदौ २४ गतेको जेएनजी आन्दोलनमा भएको पार्टी कार्यालय क्षतिको विषयमा आफूले धेरै मेहनत गरेको बताउँदै पुस्तकहरुसमेत जलेर खरानी भएको स्पष्ट गरेका छन् ।
उनले कसैसँग धेरै रिस नराखी फेरी अगाडी बढ्ने भन्दै आफू आफ्नो घर नगए पनि पार्टी कार्यालय भने आएको बताएका छन् ।
प्रहरी चौकी स्थापना गर्ने, कानुनी राज्य स्थापना गर्ने कुरा महत्वपूर्ण भएको उनको भनाई छ । यो क्षति नेपालको इतिहासमै नभएको क्षति भएको भन्दै टोल टोलमा थप क्षति हुन नदिन सबै सक्रिय हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
राष्ट्रिय सम्पत्तिको क्षति तथा सबै देशको सम्पत्तिको क्षतिमा सबै लाई लाग्न आह्वान गरेका छन् ।
आफुलाई पार्टी कार्यालयको अवस्था देख्दा ज्यादै दुःख लागेको बताउँदै २० औं हजार पुस्तकहरू जलेकालाई पुनः राख्नुपर्ने बताए । उनले कसैले पनि घटनाको जिम्मा नलिएकाले सबै आ–आफ्नो ठाउँमा डराएको र कसैको अनुहार पनि नदेखिएकोले जोगिने र जोगाउने कार्य सबैको भएको बताए ।
२३ गते भएको राज्यको आतङ्क र २४ गतेको विध्वंसको हिसाब किताब भने हुने उनले दाबी गरे । भन्न सजिलो भए पनि गर्न चैँ गाह्रो हुने सामान्य भएको भन्दै त्यसका लागि नगरी नहुने कुरा पनि भएको उनले भिडियो सन्देशमार्फत बताएका छन्।
भदौ २३ गते १९ जना जेएनजीहरुको प्रहरीको गोली लागि निधन भएको थियो भने २४ गते महामन्त्री थापासहित काँग्रेस, एमाले, माओवादीलगायतका पार्टी कार्यालय तथा नेताहरूलाई आक्रमण र घर तथा पार्टी कार्यालय तोडफोड भएको थियो ।





