राजनीति

गङ्गा दाहालले यस्तो लामो आक्रोश पोख्दै दिइन पुष्पकमल दाहालको सचिवालयबाट राजीनामा 

३ कात्तिक, काठमाडौँ ।  माओवादी अध्यक्ष पुष्पकमल दाहालकी सुपुत्रीसमेत रहेकी गङ्गा दाहालले आक्रोश पोख्दै सचिवालयबाट राजीनामा दिएकी छन् । 

उनले आफ्नो ब्यागको मूल्य यति र उत्ति भनिए पनि आफूलाई कसैले उपहार दिएको ब्याग जेएनजी आन्दोलनमा जलिसकेको बताउँदै आफूले व्यक्तिगत भन्दा पनि संस्थागत फाइदाका लागि काम नगर्दा पनि आलोचना भइरहेकोमा उनको रोष प्रकट भएको छ । 

उनले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएकी हुन्, उनी माओवादी केन्द्रमा भने सक्रिय रहिरहने बताएकी छन् ।  

जेएनजी आन्दोलनका क्रममा उनको, बुवा पुष्पकमल दाहालको चितवन र काठमाडौंको घर तथा दिदी रेणु दाहालको घर तोडफोड र आगजनीबाट ध्वस्त भएको थियो । 

उनको स्टाटस्ः 

नमस्कार 🙏🏻  मेरा बारेमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहावसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भूमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरूको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफूले सकेको सहयोगको कोसिस गरिरहे । यस दौरानमा सबैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्म आलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधैँ सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे। तर दुख लाग्छ, यो ठाउँ नै त्यस्तै हो कि जति राम्रो गर्छु भन्दा पनि, जति नै विवादरहित भएर काम गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान् जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो। कु प्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।

निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु। 🙏🏻✊

अन्तमा, दीपावलीको दीप जस्तै तपॉईहरुको जीवन उज्यालो बनोस्, सबैमा दीपावली, छठ, नेपाल संवत्लगायत पर्वको हार्दिक शुभकामना🙏

धन्यवाद