५ कात्तिक, काठमाडौं । नेपाल संवतको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सरकार हाल निर्वाचनको तयारीमा पूर्ण रूपले सक्रिय रहेको स्पष्ट पारिन्। फागुन २१ गते तय भएको चुनाव शान्तिपूर्ण र निष्पक्ष बनाउने लक्ष्यका साथ सरकारले हरेक दिन राजनीतिक दलहरू र परिवर्तन चाहने जेनजी समुदायसँग संवाद जारी राखेको उनले बताइन्।
पछिल्लो विद्रोहपछिको अवस्थालाई सामान्य पार्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन सरकार दत्तचित्त भएको उनको भनाइ थियो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकता दिएको अर्थ अन्य मुद्दामा चुप लागिएको भन्ने गलत बुझाइ हो भन्दै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार गम्भीर भएर लागिरहेको उल्लेख गरिन्।
संविधानको मर्मअनुसार जनताको आवाज सुन्ने र सम्बोधन गर्ने जिम्मेवारीबाट सरकार पछि नहट्ने उनले स्पष्ट पारिन्। लोकतन्त्रलाई संस्थागत गर्न र असमानता तथा भ्रष्टाचारविरुद्धको लडाइँलाई सशक्त रूपमा अघि बढाउन सबैको सहयोग आवश्यक रहेको सन्देश पनि उनले दिइन्।





