१४ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई चुनाव लड्न रोकिए देशमै फेरि चुनाव हुन नसक्ने चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले आफू, लक्ष्मण थारु र धनिराम थारुलाई प्रतिस्पर्धाबाट बाहिर राखिए चुनाव सम्भव नहुने दाबी गरे।
उनका अनुसार जनताको आवाजलाई बेवास्ता गरेर चुनाव गराउने प्रयास सफल हुँदैन। उनले भने, “यदि रेशम, लक्ष्मण र धनिरामलाई चुनावमा सहभागी हुन नदिइयो भने यो देशमा फेरि चुनाव हुने अवस्था रहँदैन।”
चौधरीले हाल आफूलाई चुनाव लड्न नदिने कुरा जेनजी अभियानका अगुवा पुरुषोत्तम यादवले सार्वजनिक रूपमा भन्दै हिँडेको प्रति आपत्ति जनाए। उनले भने, “देश परिवर्तनका लागि लड्ने हामी, अधिकारका लागि आन्दोलन गर्ने हामी तर अब निर्णय गर्ने कलम चलाउनेहरू? त्यो अन्याय हामीले स्वीकार्न सक्दैनौं।”
उनले राजनीतिक दलहरू र नेताहरूले जनताको आवाज सुनेर मात्रै देशमा स्थायित्व ल्याउन सक्ने उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई सबैका लागि समान अवसरको माध्यम बनाउनुपर्नेमा जोड दिए।





