१७ कात्तिक, काठमाडौं । भारत तेलंगानाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दुर्घटना चेवेला प्रहरी चौकी अन्तर्गत पर्ने खानापुर गेट नजिक भएको थियो।
घटना सम्बन्धी जानकारी अनुसार, बसमा सवार २० जना घटनास्थलमै ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था अझै गम्भीर रहेको बताइएको छ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यमा तीव्रता दिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत उपलब्ध गराउने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ। यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट उपलब्ध गराइनेछ।





