अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रकोप : दशौँ हजार नागरिक सुरक्षित स्थानमा सारिए

१७ कात्तिक, फिलिपिन्स । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीहरूले भारी वर्षा र तीन मिटर (झन्डै १० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन् ।

फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमबार बिहान पूर्वी समर प्रान्तको गुइआन सहरबाट करिब २३५ किलोमिटर पूर्वमा थियो । यसले १२० किलोमिटर प्रतिघण्टा स्थायी र १५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ । आँधी सोमबार साँझतिर फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यसपछि मङ्गलबार पश्चिमतर्फ सर्दै सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पु¥याउने अनुमान गरिएको छ ।

यी क्षेत्रमा गत सेप्टेम्बर ३० मा आएको ६।९ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पु¥याएको थियो । भूकम्पमा परी कम्तीमा ७९ जनाको निधन भएको र हजारौँ नागरिक अझै विस्थापित रहेका छन् ।

पूर्वी समरका गभर्नर आर। भी। एवार्डोनले सेना, प्रहरी, अग्नि नियन्त्रक र विपद् निवारण टोलीहरूको सहकार्यमा अनिवार्य निकासी आदेश जारी गर्नुभएको छ । उनका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय सहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कन्क्रीट घर वा सामुदायिक भवनहरूमा सारिएको छ । गभर्नर एवार्डोनले तीन मिटर अग्लो ज्वारभाटा आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन्।

स्मरणीय छ, सन् २०१३ नोभेम्बरमा रेकर्डकै शक्तिशाली टाइफुन ‘हाइयान’ ९फिलिपिन्स नाम ‘योलान्डा’० ले यही गुइआन सहरमा पहिलो पटक जमिन छोएको थियो । सो आँधीले मध्य फिलिपिन्समा करिब सात हजार ३०० जनाको मृत्यु वा बेपत्ता गराएको थियो । हजारौँ गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र जहाजहरू समेत भित्री भूभागसम्म बगाइएका थिए । ‘हाइयान’ ले करिब १० लाख घर नष्ट पार्दै ४० लाखभन्दा बढी मानिस विस्थापित पारेको थियो ।

गभर्नर एवार्डोनले भने, “योलान्डाको भयावह अनुभवका कारण यसपटक कसैले पनि निकासीको आदेशको विरोध गरेका छैनन् । नागरिकहरूलाई माफ माग्नुभन्दा सुरक्षित रहनु राम्रो हो भन्ने कुरा राम्ररी थाहा छ । त्यसबेलाको सडकमा शवहरू छरिएको दृश्य अहिले पनि उनीहरूको सम्झनामा ताजा छ ।”

अधिकारीहरूले पूर्वी समर नजिकका अन्य टापु प्रान्तहरूबाट पनि हजारौँ गाउँलेलाई सुरक्षित ठाउँमा सारिएको जनाएका छन् । तटरक्षक, सेना र विपद्–प्रतिक्रिया निकायहरू उच्च सतर्कतामा रहेका छन् ।

फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशहरूमध्ये एक मानिन्छ । प्रत्येक वर्ष औसतमा २० वटा टाइफुन वा आँधीबेहरी यसको भूमि र जनजीवनमा प्रभाव पार्ने गर्छन् । भूकम्प र सक्रिय ज्वालामुखीहरूको उपस्थितिले यो देशलाई अझ जोखिमयुक्त बनाएको छ ।

यसपटकको टाइफुन ‘कलमेगी’ ले पुनः एकपटक फिलिपिन्सका नागरिकलाई विपद् व्यवस्थापन र तयारीमा सजग रहन बाध्य पारेको छ ।