खेलकुद

फागुनमा हुने भयो दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

१९ कात्तिक, काठमाडौं । स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने तयारी गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बुधबार बसेको १२३औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

गत वर्ष मंसिरमा आयोजना गर्ने योजना भए पनि तयारी अभाव र बजेट समस्याका कारण पटक–पटक मिति सारिँदै प्रतियोगिता स्थगित भएको थियो। यसपटक नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि पहिलोपटक बसेको बैठकले नयाँ मिति टुंगो लगाएको हो।

२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदपछि झण्डा हस्तान्तरण गर्दै दशौँ संस्करण कर्णाली प्रदेशमा गर्ने सहमति भएको थियो। तर, पूर्वाधार निर्माणमा ढिलाइ र व्यवस्थापकीय कमजोरीका कारण तय समयमा प्रतियोगिता सम्भव नभएको राखेपले जनाएको छ।

राखेपले प्रतियोगिता फागुनमा सम्पन्न गर्ने निर्णयसँगै तयारी तीव्र पार्ने योजना बनाएको छ।

यस्तै, बोर्ड बैठकले नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जितबहादुर केसीलाई सम्मानस्वरूप २५ लाख रुपैयाँ पुरस्कार दिने प्रस्ताव मन्त्रीपरिषद्‌मा पठाउने निर्णय पनि गरेको छ।