२० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका राजनीतिक अगुवाहरूप्रति राजनीतिमा सावधानीपूर्वक अघि बढ्न सुझाव दिएका छन्।
राजनीतिक संवाद समितिद्वारा बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीति केवल देखिने पक्ष होइन, धेरै अदृश्य पक्षहरू पनि हुने भन्दै सोचेर निर्णय लिनुपर्ने बताए। भट्टराईले भने, “राजनीतिमा सबै कुरा जोसका भरमा हुँदैन, यहाँ हात्तीसरह ठूला चुनौतीहरूसँग जुध्नुपर्छ, त्यसैले धेरै कुरामा ख्याल गर्नुपर्छ।”
संविधानबारे बोल्दै उनले अहिलेको संविधानलाई अपूर्ण मान्दै त्यसलाई सुधार्दै लैजानुपर्ने आवश्यकता औंल्याए। “हिजो हामीले आधा भरेको संविधान बनायौं, अहिले बाँकी आधा पूरा गर्नुपर्छ,” उनले भने।
भट्टराईले पुराना राजनीतिक शक्तिले सुधार सम्भव नभएकाले नयाँ सोच र वैकल्पिक शक्ति आवश्यक भएको बताए। उनले गत दशकदेखि वैकल्पिक राजनीति निर्माणका लागि आफूहरू लागिरहेको उल्लेख गर्दै भने, “संविधान जारी भएको दिनदेखि मैले भनेको थिएँ, आधा गिलास भरिएको छ, आधा खाली छ। अब त्यो खाली भाग हामी सबैले मिलेर पूरा गर्नुपर्छ।”
उनले अहिलेको सुशासन र आर्थिक वृद्धिमा आएको सुस्ती पनि संविधानको अपूर्णतासँग सम्बन्धित रहेको बताउँदै नयाँ पुस्तालाई सुधार र परिवर्तनका लागि सक्रिय हुन आह्वान गरे।





