२० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फैलिएको घृणाको राजनीति नै अहिलेको असहज अवस्थाको मुख्य कारण भएको बताएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा शुक्रबार आफ्ना नेता–कार्यकर्तासँग भेट्दै उनले २४ भदौमा भएको आगजनी घटना ‘घृणाको चरम परिणाम’ भएको दाबी गरे।
ओलीले भने, “सम्मानपूर्वक बोल्ने हाम्रो परम्परा हो, तर अहिले अपशब्द र आक्रोशले समाजलाई विषिलो बनाइएको छ । घृणाको आगोले मान्छेलाई राक्षसमा परिणत गर्यो, त्यसपछि मात्र यस्तो विनाश सम्भव भयो।”
उनका अनुसार सामान्य मान्छेले आगो लगाउन सक्दैन, तर ‘घृणा र विद्वेषले भरिएका मानिस’ बाट त्यो सम्भव हुन्छ।पूर्वप्रधानमन्त्री ओलीले अप्रत्यक्ष रूपमा काठमाडौंका मेयर बालेन शाहलाई पनि निशाना बनाउँदै भने, “स्टाटसमा लेखिने भाषा हाम्रो संस्कृतिको होइन । असभ्यता र असामाजिकता कुनै नेपालीको पहिचान हुन सक्दैन । असहमति राख्ने तरिका पनि सभ्य हुनुपर्छ।”
केही दिनअघि मेयर शाहले सामाजिक सञ्जालमा प्रयोग गरेको आपत्तिजनक शब्दयुक्त स्टाटसको प्रसंग जोड्दै ओलीले समाजमा फैलिँदो असहिष्णु प्रवृत्तिप्रति चेतावनी दिएका हुन्।
ओलीले अन्त्यमा भने, “हाम्रो देश अहिले असहज अवस्थामा पुगेको छ । यसबाट निस्कनु भनेको घृणाको राजनीति अन्त्य गर्नु हो।” अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु अघि बढेकामा त्यसलाई रोक्न खोज्ने तत्वहरु हावी भएको आरोप लगाए । असन्तुष्टिलाई सम्मानपूर्वक राख्ने नेपाली परम्परा विपरीत अशिष्ट र अमर्यादित एवं हिंस्रक रुपमा गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताए । सो अवसरमा उनले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रह विमोचन गरे । गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ ।





