राजनीति

ओलीको प्रहार : “फेद न टुप्पोको आकाशबेली सरकार, म देश छाडेर भाग्दिन”

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देश छाडेर नभाग्ने दृढता व्यक्त गरेका छन्। एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले वर्तमान सरकारप्रति तीव्र आक्रोश प्रकट गर्दै त्यसलाई “फेद न टुप्पोको आकाशबेली सरकार” भनेर व्यङ्ग्य गरे।

ओलीले सरकारलाई जरा नभएको, दिशाहीन र गैरजिम्मेवार भन्दै प्रश्न गरे— “यो आकाशबेली सरकारले कमिटमेन्ट भएका मानिसको पासपोर्ट रोक्का गर्छ, आखिर गर्छ के?”

उनले आफू सुकरातजस्तै अन्तिम क्षणसम्म देशमै रहने बताउँदै जोड दिए, “केपी ओली भाग्दैन। मर्न परे पनि यही देशमा मर्छ। सुकरात भागेनन्, म किन भाग्ने?”

ओलीले वर्तमान सरकारलाई असंवैधानिक र अनुत्तरदायी ठहर गर्दै भने, “हाहुमा बनेको यो गैरजिम्मेवार सरकारलाई देश सुम्पिएर म भागेर जान्छु भन्ने कसरी सोच्न सकिन्छ?”

यसैविच नेकपा एमाले अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भनेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले पूर्व प्रधानन्यायाधीशले संविधान मिचेर प्रधानमन्त्री बनेको दाबी गर्दै यो सरकार “हाहुको भरमा बनेको” बताए।

ओलीले डिस्कोर्ड मार्फत प्रधानमन्त्री चयन गर्नु सभ्य समाजको अपमान भएको टिप्पणी गर्दै २४ गतेको आन्दोलनपछि बनेको सरकार जनअनुमोदनविहीन र लोकतन्त्रविरोधी रहेको आरोप लगाए।

उनको भाषणमा अहिलेको सत्ता गठबन्धनप्रति तीव्र असन्तुष्टि र विपक्षमा रहँदा पनि दृढ उपस्थितिको सन्देश झल्किएको थियो।