समाचार

सुकुमबासीको बेवास्ता गरेको भन्दै दुर्गा प्रसाईंले गरे बालेनको आलोचना

२३ कात्तिक, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमबासी बस्ती संरक्षण गर्न आग्रह गरेका छन्। उनले मेयर साहलाई सरकारी जग्गामा सुकुमबासीका लागि राम्रो घर बनाइदिन पनि सुझाएका हुन्।

प्रसाईंले आज सुकुमबासी बस्ती पुगेर बस्ती हटाउने मेयर साहको योजनाको आलोचना गर्दै भने, “सुकुमबासीको समस्या ०५८ सालदेखि छ। तपाईंलाई शहर सफा गर्न घिन लाग्छ भने, सरकारी जग्गामा राम्रो घर बनाइदिनुस्।”

उनले थपे, “एसीमा बस्ने, इन्जिनियर पढेका, स्टाटस लेख्ने तपाईंहरूले गरिबको घर र जग्गा नहुनुको पीडा बुझ्नुपर्छ। शहरलाई राम्रो बनाउने नाममा गरिबलाई लेखेट्नु ठीक छैन।”

प्रसाईंले सुकुमबासीको पीडा राजनीतिक दलहरूले मात्र भोट बैंकका लागि प्रयोग गरेको भन्दै आलोचना गरे। उनले सहरमा व्यापार व्यवसाय चौपट भएको, सटरहरू बन्द हुँदै गएको र सुकुमबासीको समस्या नसमाधान भएको बताए। उनले सुकुमबासी बस्ती हटाउन आउनेहरूसँग भिड्ने उदघोष पनि गरे।