२७ कात्तिक, काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) भित्र आन्तरिक विवाद सतहमा आएको छ। ‘घर फर्क’ अभियानकै बीच संगठनका अध्यक्ष डा. सुजन कडरिया र केन्द्रीय समितिबीच खुलेआम मतभेद देखिएको हो।
डा. कडरियाले बिहीबार जारी विज्ञप्तिमा अनेरास्ववियुलाई नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह बताउँदै हालैको ‘जेनजी आन्दोलन’मा विद्यार्थीहरू रगताम्य बनेको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले निर्दोष विद्यार्थीहरूको बलिदान निजी स्वार्थका लागि नभई सार्वजनिक शिक्षाको सुधारका लागि भएको भन्दै शिक्षा मन्त्रीलाई सार्वजनिक र निजी शिक्षाबीचको खाडल हटाउन गम्भीर पहल गर्न जोडदार अपिल गरेका छन्। साथै उनले एमालेको ‘घर फर्क अभियान’लाई समर्थन गर्दै कार्यकर्तालाई जिम्मेवारीमा फर्कन आह्वान गरेका छन्।
तर त्यसैबीच अनेरास्ववियु केन्द्रीय समितिले अर्काे विज्ञप्ति जारी गर्दै कडरियामाथि संगठनको अनुशासन तोडेको, पदबाट राजीनामा दिएर पुनः नेतृत्वको दाबी गरेको आरोप लगाएको छ। समितिले कडरियाको हर्कतलाई “अराजक, गैहजिम्मेवार र अनुशासनहीन” भन्दै ती क्रियाकलाप तुरुन्त बन्द गर्न चेतावनी दिएको छ।
समितिको विज्ञप्तिमा भनिएको छ, “संगठनको गरिमालाई ध्वस्त पार्ने, निहित स्वार्थका लागि संगठनको नाम र लेटरप्याडको दुरुपयोग गर्ने काम अस्वीकार्य छ। अध्यक्ष पद परित्याग गरेका व्यक्ति अब संगठनको प्रतिनिधित्व गर्न सक्दैनन्।”
अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई यस्ता गतिविधिबाट टाढा रहन र संगठनको मूल्य–मान्यता तथा अनुशासनमा रहन आग्रह गरेको छ। साथै, संगठनको नेतृत्वसम्बन्धी अन्तिम निर्णय आन्तरिक विधिबाट चाँडै हुने जनाएको छ।
यससँगै अनेरास्ववियुको आन्तरिक एकता र नेतृत्वको प्रश्न फेरि एकपटक विवादमा तानिएको छ।






