४ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० देवीनगरस्थित अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिएर ‘स्पोर्ट्स पार्क’ निर्माणको काम सुरु गरिएको छ। महानगरका मेयर बालेन शाहले सार्वजनिक गरेका विवरण अनुसार ५ रोपनी १० आना २ दाम क्षेत्रफलको यो जग्गा गत वर्ष साउन ४ गते अतिक्रमणमुक्त गराइएको थियो।
धोबीखोलाको करिडोरमा रहेको उक्त जग्गा व्यक्तिगत प्रयोगमा रहेकाले महानगर प्रहरी बलको अगुवाइमा हटाइएपछि पूर्वमन्त्री भद्राकुमारी घलेले पनि स्वेच्छाले संरचना हटाउन सहयोग गरेकी थिइन्। उनका सामान स्थानान्तरण गर्न महानगर प्रहरी बलले पनि सहयोेग गरेको थियो।
अतिक्रमणमुक्त सार्वजनिक जग्गालाई सर्वसाधारणका उपयोगमा ल्याउने दीर्घकालीन अभियानअन्तर्गत महानगरले यहाँ स्पोर्ट्स पार्क स्थापना गर्न लागिएको हो। करिब २ हजार ८८० वर्गमिटर क्षेत्रमा बन्ने पार्कको लागत (भ्याट तथा पीएस बाहेक) १ करोड ९० लाख रुपैयाँ रहनेछ। कार्यादेश कार्तिक १८ गते दिइसकिएको छ भने निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहनेछ।
पार्कमा खुला व्यायामशाला, १२८ वर्गमिटरको ब्याडमिन्टन कोर्ट, ९२८.५३ वर्गमिटरको फुटसल मैदान, महिला/पुरुष तथा अपांगता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय निर्माण हुनेछ। त्यस्तै, पार्कभित्र ३११.८९ वर्गमिटर क्षेत्रमा दुवो रोपिने, १६३ वटा विरुवा तथा ३०० मौसमी फूल रोपिनेछन्। पार्कको सुरक्षा सुनिश्चित गर्न वरिपरि पर्खाल पनि निर्माण गरिनेछ।
पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँका नागरिकलाई खुला व्यायाम, खेलकुद तथा परिवार/मैत्री खुला स्थानको सुविधा उपलब्ध हुने मेयर शाहले बताएका छन्।
महानगरले हालसम्म करिब २० अर्ब रुपैयाँ मूल्य बराबरको १७१ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराइसकेको छ। महानगरको लक्ष्य कुल १ हजार ८५९ रोपनी १४ आना सार्वजनिक जग्गालाई फिर्ता लिएर खुला क्षेत्र निर्माण गर्दै जनसाधारणको उपयोगमा ल्याउने रहेको शाहले उल्लेख गरेका छन्।
बालेनले समाजिक सञ्जालमा लेखेका छन्:
सार्वजनिक जग्गा अतिक्रमबाट फिर्ता लिएर भद्र्घले Sports Park निर्माण
व्यक्ति तथा संस्थाको कब्जामा रहेको सार्वजनिक जग्गा सर्वसाधारणको उपयोग पहुँचमा ल्याउने अभियानमा हामी रोकिएका छैनौँ । निरन्तर क्रियाशील छौँ । यसैको उदाहरण हो, काठमाडौँ महानगरपालिका वडा नं. १० देवीनगरको ५ रोपनी १० आना २ दाम जग्गामा ‘स्पोर्टस् पार्क’ बनाउने योजना ।
धोवीखोलाको करिडोरमा रहेको यो जग्गा व्यक्तिगत उपयोगमा रहेको थाहा पाएपछि २०८० साल साउन ४ गते महानगर प्रहरी बलको अगुवाईमा अतिक्रममुक्त गराइएको हो । जग्गा भोगचलन गरिरहनु भएकी पूर्वमन्त्री भद्राकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गर्नुभएको थियो । उहाँका सामान स्थानान्तरण गर्न महानगर प्रहरी बलले सहयोग गरेको थियो ।
अतिक्रमित सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराएर सार्वजनिक उपयोगमा ल्याउने योजना अन्तर्गत यस ठाउँमा महानगरपालिकाले स्पोर्टस पार्क निर्माण गर्दैछ । २ हजार ८८० वर्गमिटर क्षेत्रफलमा बन्ने पार्कको सम्झौता रकम भ्याट र पीएसबाहेक करिब १ करोड ९० लाख रुपियाँ हो । पार्क निर्माणका लागि कार्तिक १८ गते कार्यादेश दिइएको छ । निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म हो ।
पार्कभित्र खुला व्यायामशाला हुनेछ । १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ । महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै शौचालय हुनेछन् । पार्कको ३११ दशमलव ८९ वर्गमिटर क्षेत्रमा दुवो रोपेर हरियाली बनाइनेछ । विभिन्न जातका १६३ वटा विरुवा रोपिनेछन् । यस्तै ३०० वटा मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ ।
यो पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयबासीलाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरुलाई खेल्ने ठाउँ हुनेछ ।
यो पार्क स्थानीय सामाजिक सम्बन्धको र खेलको विकास तथा मनोरञ्जनका लागि उपयुक्त स्थान बन्ने हाम्रो अपेक्षा छ ।
महानगरपालिकाले अहिलेसम्म आफ्नो भौगोलिक क्षेत्रभित्र करिब २० अरब रुपियाँ मूल्य बराबरको १७१ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गरिसकेको छ । हाम्रो लक्ष्य १ हजार ८५९ रोपनी १४ आना जग्गालाई अतिक्रमणमुक्त गरेर खुला स्थान निर्माण गर्ने र सार्वजनिक उपयोगमा ल्याउने हो ।
हाम्रो यो अभियानमा साझेदार, सरोकारवाला, स्थानीयबासी तथा सर्वसाधारण सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।





