अन्तर्राष्ट्रिय

कोप–३० स्थलमा आगलागी, १३ प्रभावित

५ मङ्सिर, ब्राजिल । ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३०को आयोजनास्थल ‘ब्लु जोन’मा आगलागी हुँदा कार्यक्रम केही समयका लागि रोकिएको छ। पभिलियन क्षेत्रमा आगो र बाक्लो धुवाँ देखिएपछि पत्रकार र सहभागीलाई तत्काल बाहिर निकालिएको थियो।

रोयटर्स र बीबीसीका अनुसार आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो। धुवाँको असरबाट १३ जना बिरामी परेको र उनीहरूको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।

आगलागीको कारण खुल्न बाँकी छ। स्थानीय दमकल विभागले प्रारम्भिक रूपमा कुनै विद्युत उपकरण शायद माइक्रोवेभबाट आगो लागेको हुनसक्ने संकेत गरेको छ। घटना पछि सम्मेलनको कार्यसूची अस्थायी रूपमा प्रभावित भएको छ।