समाचार

“जेनजीको नाममा अवरोध भए प्रतिरोध गर्छौँः एमाले नेता बस्नेत”

५ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेतले ‘जेनजी’को नाममा गरिने गतिविधिमा अवरोध पैदा भएपछि प्रतिरोध गर्ने चेतावनी दिएका छन्। बबरमहलमा शुक्रबार आयोजित युवाको प्रदर्शनको नेतृत्व गर्दै उनले जहाँ अवरोध हुन्छ, त्यहीँ प्रतिवाद गर्ने बताएका हुन्।

बस्नेतले जेनजी आन्दोलनका वास्तविक माग एमालेले नै सम्बोधन गर्ने दाबी गर्दै आन्दोलनका क्रममा घाइते तथा ‘शहीद’ मानिएका युवालाई न्याय दिन प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए।

उनका अनुसार जेनजी युवासँग आफ्नो निरन्तर सम्पर्क छ, तर उनीहरूको नाम दुरुपयोग गर्दै बाहिरी तत्व सक्रिय भएको आरोप पनि लगाए।

एमाले अध्यक्ष केपी शर्मा ओली आज ‘युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड घोषणा गर्ने तयारीमा छन्। बस्नेतले स्थानीय तहदेखि टोलटोलसम्म सुरक्षा दिन फोर्स गठन हुने र आवश्यक परे विभिन्न पेशागत संस्थासँग सहकार्य गरेर तोडफोड तथा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि रोक्ने बताए।