९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले श्रीमती र नातेदारलाई जागिर दिएको विवादबारे कुरा गर्न जेनजी युवाहरु सोमबार सिंहदरबार पुगे। तर उनीहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कुर्दा पनि प्रधानमन्त्रीलाई भेट्ने मौका पाएनन्।
प्रधानमन्त्री कार्यकक्षबाट बाहिरिसकेको जानकारी पाएपछि युवाहरू आक्रोशित बने । भेट्न बोलाएर नभेटाएको भन्दै उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग समेत गरे। प्रेस संयोजक राम रावलमाथि उनीहरू चर्किएपछि वातावरण तनाबपूर्ण बनेर प्रहरी बोलाउनुपरेको थियो।
करीब ५० जना जेनजी प्रतिनिधि पुगेका थिए। सचिवालयले ८–१० जनाको टोली मात्रै छान्न भने पनि अन्ततः भेट मिलेन। प्रतिनिधिहरूको आरोप छ उनीहरूलाई अर्को कोठामा राखेर प्रधानमन्त्रीलाई “सुटुक्क” निकालियो।
प्रधानमन्त्री पक्ष भने व्यस्तताका कारण भेट सम्भव नभएको बताउँछ। कर्णाली जेनजी समूहकी सुप्रिया राज्यलक्ष्मी शाहीले आज पुनः सिंहदरबार जाने र भेट नपाए धर्ना बस्ने चेतावनी दिएकी छन्।





