समाचार

जेनजीले नेकपालाई ‘अभिभावक’ मानेको दहालको दाबी

९ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई ‘अभिभावक’का रूपमा स्वीकार गर्न थालेको दाबी गरेका छन्। जेनजी आन्दोलनको प्रारम्भिक समयमा नै आफूहरूले समर्थन जनाएका कारण युवाहरू नेकतर्फ आकर्षित भएको प्रचण्डको तर्क छ।

काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध सदस्यहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले युवाको आवाजलाई दमन हुन नदिन आफूहरू निरन्तर सचेत रहँदै आएको बताए। उनका अनुसार यही संवाद, सहकार्य र समर्थनका कारण युवाहरूले नेकपालाई आफ्नो पक्षधर राजनीतिक शक्ति ठान्न थालेका छन्।

प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामना गर्न, वामपन्थी एकतालाई पुनर्जीवित गर्न र स्वाधीनता सुदृढ बनाउन नेकपा गठन गरिएको बताए। अब भाषणभन्दा काममा ध्यान दिने समय आएको उल्लेख गर्दै उनले युवाको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार नेकपाले पुस १२ गतेदेखि देशभर ‘एकता सभा’ सुरु गर्नेछ। पहिलो कार्यक्रम कैलालीको धनगढीमा हुने र त्यसपछि विभिन्न शहर हुँदै पूर्वमा विराटनगरसम्म पुग्ने तयारी गरिएको छ।

एकता सभामार्फत निर्वाचनमय वातावरण निर्माण गर्न नागरिक, दल तथा सरकारलाई अपिल गर्दै दबाब सिर्जना गर्ने योजना रहेको प्रचण्डले बताए। ढिलोचाँडो सबै सच्चा कम्युनिस्ट र वामपन्थी शक्ति नेकपामै एकीकृत हुने दाबी पनि उनले दोहोर्याए।