समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि ६८ दल दर्ता

९ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६८ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका प्रवक्ता महादेव पन्थका अनुसार मंसिर १० गतेसम्म दर्ता प्रक्रिया खुला रहनेछ।

नेकपा एमाले र नेपाली कांग्रेसले पनि दल दर्ता गराइ सकेका छन्। एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरे पनि निर्वाचन तयारी समानान्तर रूपमा अघि बढाएको छ।

आयोगले बाँकी दलहरूलाई पनि तोकिएको समयभित्र दर्ता हुन आग्रह गरेको छ। साथै, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा सरकारसँग गम्भीर छलफल चलिरहेको आयोगले जनाएको छ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता आयोगले दोहोर्याएको छ।